२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

विकास–निर्माणका काममा राजनीति नगरौँः नेता निधि

२१ असार, जनकपुरधाम । नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि रु आठ करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले राजनीतिक दुर्भावनाका कारण भवन निर्माणमा अवरोध भएको बताउनुभयो ।

आफूले वर्षौंदेखि राजर्षि जनक विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै नेता निधिले विश्वविद्यालयको भवन निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, प्रदेश सांसद रामसरोज यादवलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार १५:४३