१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः सभापति देउवा

१३ असार, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं  दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उहाँले  अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थानले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यही यही पार्टीको सभापति भए, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन ।” निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उहाँको भनाइ थियो ।

कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउनसक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । गौरीदेवी प्रधान र उहाँका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटोमा लागेर उहाँहरुले छाडेका अपूरा काम पूरा गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । प्रधान परिवार प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी र सहयोगी मनको भएको भन्दै उहाँले आफू पनि प्रधान परिवारसँग नजिक भएको स्मरण गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई सम्बृद्ध बनाउने पार्टी कांग्रेस भएको बताउनुभयो । इतिहासलाई सम्झेर जनताको चाहनाअनुसार पार्टीलाई अघि बढाउन सके कांग्रेस बलियो बन्ने उहाँको भनाइ थियो । कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन आश्यकता र परिस्थिति हेरेर गर्न सकिने बताउनुभयो । एक्लै बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गरेर ठूलो दलका रुपमा आउन सकिने उहाँले बताउनुभयो ।

नेता डा शशाङ्क कोइरालाले कांग्रेसलाई बलियो बनाउन सके संविधानको रक्षा हुने बताउनुभयो । लोकतान्त्रिक आन्दोलनमा गौरीदेवी प्रधानको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा लोकतान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानलाई सम्मान गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङले गौरीदेवी प्रधानले नेपालको हरेक आन्दोलनमा खेलेको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : June 27, 2025 at 3:11 pm