१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

११ असार, काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १३ गते सचिवालय बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गरिने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल गरिने छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाका प्रतिरक्षामा पार्टीका तर्फबाट भएका अनुसन्धानबारे छलफल गरिने कार्यसूची छ ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 25, 2025 at 10:19 am