२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

भिजिट भिसा प्रकरणबारे गठित छानबिन समितिलाई ९ कार्यादेश

१० असार, काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न गठित उच्च स्तरीय समितिको ९ वटा कार्यादेश रहेको छ ।  गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न ९ वटा कार्यादेशसहित सरकारले समिति बनाएको जानकारी दिनुभयो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । गृहमन्त्री लेखकले प्रतिनिधि सभाको बैठकलाई अध्यागमनमा रहेको समस्या पहिचानदेखि नीतिगत सुधारसम्मका काम गर्ने गरी छानबिन समितिलाई ९ वटा कार्यादेश दिइएको जानकारी गराउनुभएको हो ।

यस्ता छन् ९ कार्यदेश

१) अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण, तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानुनी एवम् संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउने।

२) अध्यागमन व्यवस्थापन भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिहरूको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरवलोकन आवश्यक भए, सोको मस्यौदा पनि बुझाउने।

३) अध्यागमन व्यवस्थापनमा विद्यामान संरचनागत, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गर्ने।

४) अध्यागमन व्यवस्थापन र नागरिकहरूको आवतजावतमा समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरू बीचका समन्वय र सहकार्यका गर्नुपर्ने सुधार एवम् व्यवस्थाबारेमा सुझाव पेस गर्ने।

५) अध्यागमन व्यवस्थापन र नागरिकहरूको यात्रा सहजीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेशअनुरूप कार्यान्वयन गर्न सकिने सुझाव पेस गर्ने।

६) भिजिट भिसा, श्रम भिसा लगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरूबीचको समस्यामा पर्ने तथा विदेशमा अवैध रूपमा बस्दा समस्या हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथामका लागि अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेस गर्ने।

७) अध्यागमन प्रणालीलाई प्रविधिमैत्री सरल, सहज, छिटो, छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव पेस गर्ने।

८) विदेश आवतजावत गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकायहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेस गर्ने।

९) अध्यागमनको आवतजावतको अभिलेख राखी सुरक्षित र दुरूस्त राख्न अपनाउनुपर्ने उपायकाबारेमा सुझाव पेस गर्ने।

प्रकाशित मिति : 12:23