वाणिज्य बैंकहरूले कमाए ४७ अर्ब ७९ करोड नाफा, कुन बैंकको कति ?
३० जेठ, काठमाडौं । चालू आर्थिक वर्षको दश महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा १.६७ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकहरुले ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए ।
समिक्षा अवधिमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल बैंक, एभरेष्ट बैंक, एनएमबी, लक्ष्मी सनराइज, सिद्धार्थ, माछापुच्छ्रे बैंक र सानिमा बैंकको नाफा बढेको छ ।
यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड , प्रभु, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको नाफा घटेको छ ।
यो अवधिमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ५ अर्ब ६० करोड कमाएको छ । सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले वैशाख मसान्तसम्ममा ५ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ । नेपाल बैंकले समिक्षा अवधिमा ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड ३५ लाख, लक्ष्मी सनराइजको बैंकले २ अर्ब १५ करोड, सानिमा बैंकले १ अर्ब ८७ करोड ५ लाख, एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख र सिद्धार्थ बैंकले २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, एनआइसी एशियासहित १० वटा बैंकको नाफा घटेको छ । समिक्षा अवधिमा एनआइसी एशिया बैंकको नाफा घटेर ४७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । हिमालयन बैंकको नाफा ६८ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, कुमारी बैंकको नाफा ४८ करोड १९ लाख, कृषि विकास बैंकको १ अर्ब ७३ करोड ३८ लाख, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ७७ करोड ४ लाख, सिटिजन बैंकको १ अर्ब १८ करोड १५ लाख र प्रभु बैंकको नाफा २ अर्ब १४ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरि, प्राइम बैंकको नाफा २ अर्ब ५८ करोड ५५ लाख, स्ट्याण्डर्ड चार्टर्डको २ अर्ब ३४ करोड ६४ लाख, नेपाल एसबिआईको नाफा १ अर्ब ३८ करोड २० लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार १२:५४












