२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

नेपालको पर्यटनः निजी क्षेत्रको लगानी, सम्भावना र चुनौती

-सिएन पाण्डे

नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र ऐतिहासिक धरोहरले सम्पन्न देश हो । विश्वभरका पर्यटकहरूको लागि यो एक आकर्षक गन्तव्य बनेको छ । तर, पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी जोखिमपूर्ण अवस्थामा पुगेको छ । राज्य संयन्त्रले कनेक्टिभिटी सुधार नगरे वा थप लगानी नगरे पर्यटन व्यवसायीहरू विस्थापित हुने सम्भावना बढेको छ । अहिले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेर बजेटको अन्तिम तयारी गरिरहेको समयमा यो सरोकारवाला पक्षहरूका लागि समेत सन्दर्भ सामग्री बन्नसक्छ भनेर यस लेखमा नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी, यसको चुनौतीहरू र समाधानका उपायहरूको विस्तृत चर्चा गर्दैछु ।  ।

नेपालको पर्यटनको इतिहास

नेपालको पर्यटन क्षेत्रको इतिहास लामो बन्दै छ। नेपालको हिमालय पर्वतमालाको सुन्दरताले प्रारम्भिक समयदेखि नै विदेशी यात्री र तीर्थयात्रीहरूलाई आकर्षित गरिरहेको थियो । सन् १९५० को दशकमा, नेपालले आफ्ना ढोका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि खोल्यो । यो समयदेखि नेपाल पर्वतारोहण, ट्रेकिङ, र सांस्कृतिक पर्यटनका लागि प्रख्यात गन्तव्य बन्दै गयो।

१९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको पहिलो सफल आरोहण गरेपछि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा थप चिनिन पुग्यो । यसले पर्वतारोहण र साहसिक खेलकुद पर्यटनलाई नयाँ उचाइमा पुर्‍यायो । विभिन्न आन्दोलनले काठमाडौँलाई सांस्कृतिक पर्यटनको केन्द्र बनायो। त्यसपछि नेपालमा पर्टन केन्द्रीत लगानी बढ्दै गयो । विशेष गरी निजी क्षेत्रबाट। तर, नेपालको पर्यटनले विभिन्न उतारचढाव पनि भोगेको छ । १९९० को दशकमा माओवादी विद्रोह, २०१५ को विनाशकारी भूकम्प र कोभिड-१९ महामारीले पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । यद्यपि यी चुनौतीहरूबीच पनि निजी क्षेत्रले ठूलो लगानी गरेर नेपालको पर्यटनलाई बचाइराख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

dainiki.com

निजी क्षेत्रको लगानी र वर्तमान अवस्था

नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी र एयरलाइन्समा अर्बौं रुपैयाँ लगानी भएको छ । विशेष गरी काठमाडौँ उपत्यका, पोखरा, चितवन र लुम्बिनी जस्ता मुख्य गन्तव्यमा ठूला परियोजनाहरू सञ्चालनमा छन् । यद्यपि कमजोर पूर्वाधार, अपर्याप्त कनेक्टिभिटी र प्रभावकारी सरकारी योजना अभावका कारण यी लगानीहरूले अपेक्षित प्रतिफल दिन सकेका छैनन्।भएको लगानीहरू समेत जोखिममा छन । पर्यटकहरूको आगमन घट्दा र नयाँ बजारको पहुँच सीमित हुँदा धेरै व्यवसायीले आफ्नो लगानी सुरक्षित गर्न कठिनाइ महसुस गरेका छन् । यदि यो अवस्था सुधार गर्न सरकारले समयमै हस्तक्षेप गरेन भने पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरू वैकल्पिक मार्गहरू खोज्न बाध्य हुनेछन् ।

कनेक्टिभिटीको महत्त्व

नेपालमा पर्यटक भित्र्याउन सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कनेक्टिभिटी सुधार गर्नुपर्छ। हवाई यातायातको सन्दर्भमा नेपालले हाल पनि अन्तर्राष्ट्रिय उडानहरूको सीमित संख्या मात्र उपलब्ध गराइरहेको छ । सरकारले राष्ट्रिय ध्वजाबाहक विमान कम्पनीको प्रभावकारिता बढाउनेतर्फ खासै ध्यान दिइएको छैन । पोखरा, भैरहवा र काठमाडौँबाट नियमित उडानको संख्या वृद्धि गर्नसके पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ तर त्यतातर्फ ठोस पहल भएको पाइदैन ।सडक सञ्जालको सन्दर्भमा पनि नेपालले छिमेकी देशहरूसँग बलियो सञ्जाल बनाउनु आवश्यक देखिन्छ । विशेष गरी चीन र भारतसँगको सीमावर्ती क्षेत्रको सडक पूर्वाधार सुधार गरेर सहज यातायात उपलब्ध गराउन सकियो भने पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा वृद्धि हुन्छ ।

अनियन्त्रित लगानीको समस्या

निजी क्षेत्रले ठूलो लगानी गरिरहेको भए पनि पर्यटन क्षेत्रमा अनियन्त्रित लगानीले जोखिम पनि बढ्दै गएको छ । जसले गर्दा बजारमा प्रतिस्पर्धा मात्र नभई अस्थिरता पनि बढेको छ । यस्ता समस्या समाधान गर्न, सरकारले लगानीका लागि निश्चित मापदण्ड बनाउनु पर्दछ । अनावश्यक रुपमा नयाँ परियोजनाहरू सञ्चालनमा ल्याउनुभन्दा अहिले सञ्चालनमा रहेका परियोजनाहरूलाई सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्छ ।

सम्भावनाहरू

नेपालले पर्यटनको विकासका लागि तीन प्रमुख क्षेत्रहरूमा फोकस गर्नुपर्दछ:

चीन र भारतसँगको सडक सञ्जाल सुधार:

– छिमेकी देशहरूसँगका प्रमुख नाकाहरूलाई स्तरोन्नति गरेर सहज आवागमन सुनिश्चित गर्नुपर्छ।

– साउथ इस्ट एसियाको पर्यटनको केन्द्रबिन्दु बनाउनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ।

राष्ट्रिय ध्वजाबाहक विमानहरूको संख्या वृद्धि:

– पोखरा र भैरहवाबाट पाँच–पाँचवटा र काठमाडौँबाट दशवटा राष्ट्रि ध्वजाबाहक विमान सञ्चालन गर्नुपर्दछ।

– नयाँ गन्तव्यहरूमा उडानहरू सुरु गरेर अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्नुपर्छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण:

– लामो समयदेखि चर्चामा रहेको निजगढ विमानस्थल निर्माण गरी वार्षिक ५० लाख पर्यटक भित्र्याउने योजनालाई कार्यान्वयन गर्नुपर्छ ।

पर्यटनसँगै हरित ऊर्जा र कृषि क्षेत्रसँगको सहकार्य

पर्यटन क्षेत्रको प्रगति गर्न, हरित ऊर्जा र कृषि क्षेत्रलाई पनि सँगै अघि बढाउनु आवश्यक छ। हरित ऊर्जा प्रयोग गरेर दिगो पर्यटन प्रोत्साहित गर्न सकिन्छ। यस्तै स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पर्यटकहरूलाई विशिष्ट अनुभव दिन सकिन्छ। स्थानीय उत्पादनहरूको प्रवर्द्धनले न केवल पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्छ, तर स्थानीय समुदायलाई आर्थिक रूपमा सुदृढ पनि बनाउँछ।

नीतिगत सुधार

सरकारले लगानी नियन्त्रित गर्न, पूर्वाधार विकास गर्न, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न दीर्घकालीन योजना बनाउनु आवश्यक छ। यसका लागि निम्न कदमहरू आवश्यक छन्:

नीतिगत सुधार:

– लगानीलाई नियमन गर्ने स्पष्ट नीतिहरू निर्माण गर्नुपर्छ।

– सरकारी र निजी क्षेत्रबीच सहकार्यको माध्यमबाट योजना कार्यान्वयन गर्नुपर्छ।

पब्लिक-प्राइभेट पार्टनरशिप (PPP):

– पर्यटन पूर्वाधार विकास गर्न PPP मोडल अपनाउनुपर्छ ।

– निजी क्षेत्रको अनुभव र सरकारी स्रोतलाई एकीकृत गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्छ।

प्रचारप्रसार:

– अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्छ।

– डिजिटल मार्केटिङको प्रयोग गरेर विश्वभरि नेपाली पर्यटनका सम्भावनाहरू उजागर गर्नुपर्छ।

निष्कर्ष

नेपालको पर्यटन क्षेत्रलाई समृद्ध बनाउने मार्गमा कनेक्टिभिटी सुधार र लगानीको नियमन र दीर्घकालीन नीतिको आवश्यकता छ। चीन र भारतसँगको सशक्त सञ्जाल, राष्ट्रिय ध्वजाबाहक विमानहरूको संख्या वृद्धि र निजगढ विमानस्थलको निर्माणले नेपाललाई दक्षिण एसियाली पर्यटनको केन्द्र बनाउने अवसर दिन सक्छ । साथै, पर्यटनसँग हरित ऊर्जा र कृषि क्षेत्रको सहकार्यले दिगो विकासको आधार तयार गर्न सक्छ। यदि सरकारले प्रभावकारी कदमहरू चालेको खण्डमा मात्र “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय नारालाई साकार गर्न सकिन्छ। यो नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने सुनौलो अवसर हो।

अन्त्यमा, 

नेपाल सरकारले हालसालै केही महत्त्वपूर्ण कानुनमा सुधार गर्दै निजी क्षेत्र मैत्री नीति अपनाउने दिशामा उल्लेखनीय कदम चालेको छ। यो राम्रो काम हो । लगानीको वातावरण सुधार गर्न र निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्न सरकारले अध्यादेशमार्फत कानुनहरू संशोधन गरेर सकारात्मक सन्देश दिएको छ । निजी क्षेत्रका प्रतिनिधिहरूले समेत यी सुधारहरूको स्वागत गरेका छन् । सरकारले कानुन संशोधनमा देखाएको प्रतिबद्धता कार्यान्वयनको चरणमा पुगेमा देशमा दीर्घकालीन र पारदर्शी लगानीको वातावरण पक्कै बन्नेछ । निजी क्षेत्रलाई सहजीकरण गर्न, रोजगारी सिर्जना गर्न र समग्र आर्थिक वृद्धिलाई तीव्रता दिन अब सरकार, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्य अपरिहार्य बन्दै गएको छ। वर्तमान कानुनी सुधार र भविष्यको प्रतिबद्धता सँगै सरकारले केही आशा देखाएको छ । तर यति भन्दै गर्दै पर्यटन क्षेत्रका सम्बन्धमा सरकारले विगतदेखि गर्दै आएको प्रतवद्धता कार्यान्वयन नगर्नु र गर्न नचाहनु दुःखद् छ । बजेटको पूर्व तयारी चलिरहेको समयमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

लेखक पाण्डे नाट्टाको पूर्व अध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार ०८:००