रेशम चौधरीलाई पुर्पक्षकाे लागि थुनामै राख्न सर्वोच्चकाे आदेश
२३ पुस, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षकाे लागि थुनामै राख्न सर्वोच्चले आदेश दिएकाे छ । आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको छ । सर्वोच्चले चौधरीउपर प्रहरी नायब निरीक्षक मानबहादुर बोहरालगायत ८ जनाले ज्यानसम्बन्धी मुद्दामा किटान गरी पोल गरेको, घटनास्थलमा उपस्थित प्रहरीले कागज गर्दा चौधरीसमेत उपर किटानी पोल गरेको, सहअभियुक्तहरुले चौधरीको निर्देशनमा घटनामा संलग्न भएको भनी बयान दिएको, चौधरीको कल डिटेल हेर्दा घटनास्थल भन्दा टाढा रहेको नदेखिएको, प्रतिवादी प्रदीप चौधरीले अदालतसमक्ष गरेको बयानमा रेश चौधरीउपर किटानी पोल गरेकाले उनले कसुर गरेकाे भनी विश्वास गर्न सकिने पर्याप्त आधार देखिएको सर्वोच्चले ठहर गरेको छ ।
प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १६:४२