७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आन्दोलनका दोषीलाई कारबाही गर्न सांसदहरुको माग

१८ चैत, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनका दोषीलाई कारबाहीको माग गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का नेता तथा सांसद अम्मरबहादुर थापाले गत चैत १५ गते राजावादीको आन्दोलनका कारण भएको धनजनको क्षतिबारे विरोध गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । उहाँले अग्रगमनका लागि लाकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने र जनताप्रति राज्य उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नेत्री सांसद रञ्जुकुमारी झाले पनि गत चैत १५ गतेको आन्दोलन अराजक र अमानवीय क्षति भएको भन्दै आपत्ति जनाउँदै सरकारले न्यायिक छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।

“संविधानमा सबै अधिकार छ । संविधानले संशोधनको व्यवस्था गरेको छ । यदी कसैले राजा ल्याउन चाहेमा निर्वाचन प्रणालीबाट दुई तिहाईको बहुमत ल्याउन सकोस्”, उहाँले भन्नुभयो, “संविधान अनुसारको चरित्र देखाउँ । संविधान कार्यान्वयन गर्न सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।”

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष तथा सांसद राजकिशोर यादवले पनि गत चैत १५ गतेको आन्दोलनको अराजक रहेको भन्दै यस्तो प्रकारको उदासिनता नराकिएको भन्दै आपत्ति जनाउनुभयो । “यत्ति ठूलो क्षति र आगजनी हुँदा गृह प्रसाशन कहाँ थियो ? पूर्वतयारी किन भएन ?” उहाँले भन्नुभयो, “उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्नुपर्छ ।” यादवले गणतन्त्रको अर्को कुनै विकल्प हुन नसक्ने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले पनि चैत १५ गतेको आन्दोलनको नाममा अराजकता भएको भन्दै यसमा गृहप्रशासनको कमजोरी देखिएको बताउनुभयो ।

प्रकाशित मिति : March 31, 2025 at 2:00 pm