७ असार २०८३, आइतबार | Mon Jun 22 2026

काभ्रेपलाञ्चोकमा एमालेको जरा अभियान सञ्चालन

६ चैत, काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले गत माघ २० गतेदेखि तीन महिने वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ ।

अभियान सुरुआतको चरणमा नेता, कार्यकर्तालाई बनेपामा भेला गराई अभिमुखीकरण कार्यक्रमपछि कार्यविभाजनमार्फत वडा–वडामा खटाइएको थियो । अभियान विशेष गरी ‘पुराना जगाऊ, नयाँ बढाऊ’मा केन्द्रित रहेको जिल्ला कमिटीले जनाएको छ ।

कमिटीका अनुसार पार्टीको चौँथो पूर्णबैठकले जरा अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै केन्द्रीय तथा जिल्लास्तरका नेता, कार्यकर्ताले अभियानको नेतृत्व गरिरहेका छन् । अभियानअन्तर्गत पचासभन्दा बढी वडामा अधिवेशन, टोल कमिटी गठनलगायत सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेका पार्टीका जिल्ला अध्यक्ष राजन भुर्तेलले बताउनुभयो । उहाँका अनुसार यही चैतभित्र आगामी २०८२ सालसम्मको सङ्गठित सदस्य नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने कार्यक्रम तय भएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले स्थानीयस्तरमा पार्टीका नेता तथा कार्यकर्तालाई पुनःजागरण गराउँदै नयाँ सदस्यता बढाउनेतर्फ अभियान केन्द्रित रहेको बताउनुभयो । “एमालेले जिल्लाको समृद्धिको स्पष्ट खाका तयार गरेको छ र सोही अनुसार बजेट विनियोजनमा निरन्तर लागिएकाले नागरिकको पक्षमा जनप्रतिनिधि थप केन्द्रित रहन आग्रहसमेत गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ अन्तर्गत सञ्चालित अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, जनसङ्गठनको कमिटी बनाउने, युवालाई आकर्षित गर्न विभिन्न प्रतियोगिता आयोजना गर्ने, सरकारको समृद्धिको अभियानलाई सफल बनाउन एजेण्डा बनाएर सम्बन्धित निकायलाई दबाब दिने, लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नेलाई सम्मानलगायत कार्यक्रम गरिएको जिल्ला इन्चार्ज बाँस्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अभियान आगामी वैशाख १५ गतेसम्म जिल्लाका १३ स्थानीय तहका एक सय ३५ वटै वडामा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : March 19, 2025 at 1:53 pm