२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

१९ माघ, नारायणगढ (चितवन) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उहाँले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको बताउनुभयो ।

“अहिले आममानिसमा निराशा छाएको छ । यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ । जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ । कांग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो”, महामन्त्री शर्माले भन्नुभयो ।

उहाँले मेचीदेखि महाकालीसम्मको विकास, समृद्घि र समुन्नतिका लागि काम गर्नसके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।

केन्द्रीय सदस्य मधु आचार्यले चितवनमा रहँदा आफूले सकारात्मक ऊर्जा पाएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी पार्टीले जित्ने अवस्था बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले एक्लै चुनाव लड्न कांग्रेसले सङ्गठन निर्माणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले देश विकासका लागि पार्टी नेतृत्वमा भएका उपलब्धिको प्रचारप्रसार गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

पार्टीका चितवन सभापति राजेश्वर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वव उमा रेग्मी, टेकप्रसाद गुरुङ, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, कांगे्रस काठमाडौँका सभापति सुबजकृष्ण बानियाँ, कांग्रेस चितवनका पूर्वसभापतिहरू जितनारायण श्रेष्ठ, विकास कोइरालालगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : 19:30