८ असार २०८३, सोमबार | Mon Jun 22 2026

हिरासत मुक्त भएका रवि लामिछाने धरौटीमुक्त बनाइदिन माग गर्दै उच्च अदालतमा

१४ माघ, कास्की । सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति र संसदीय दलको नेताबाट निलम्बित हुनुभएको रवि लामिछाने जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता गराउनुभएको छ । रविले आदेश खारेजको माग गर्नुभएको न्यायाधीश राई देशकै कान्छा न्यायाधीश हुनुहुन्छ । राईले प्रभावित भएर धरौटीमा छाडेको भन्दै एउटा समूहले न्यायपरिषद्मा उजुरी दिएको छ ।

लामिछानेका सहयोगी प्रमोद न्यौपानेले पार्टीको ह्वाट्सपमा सञ्चालित मिडिया ग्रुपमार्फत रिट दर्ताको जानकारी दिनुभएको छ । लामिछाने श्रीमति निकिता पौडेल, स्वकीय सचिव दीपक बोहोरासहितको टोली बोकेर उच्च अदालत पुग्नुभएको छ ।

लामिछानेले रिट दर्ता गरेको विषयमा जानकारी दिँदै न्यौपानेले भन्नुभएको छ ‘कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा दफा ७३ बमोजिम निवेदन दर्ता गराउनु भएको छ।’

dainiki.com

गत पुस २५ गते लामिछनेसँग जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले प्राप्त प्रमाण हेर्दा सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा दोषी होइन भन्न सकिने अवस्था नरहेको भन्दै ६५ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिनुभएको थियो ।

उक्त आदेश बदरको माग गर्दै लामिछानेले सोमबार उच्च अदालत पोखरामा स्वयं उपस्थित भएर रिट दर्ता गराउनुभएको हो । तत्कालीन गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारी ठगीमा मास्टरमाइन्ड भएर काम गर्नुभएको लामिछानेको विरूद्धमा अदालतमा मुद्दा दर्ता भए लगत्तै संघीय संसद सचिवालयले समेत उहाँको सांसद पद निलम्बन गरिदिएको छ । लामिछाने गत कात्तिक २ गते केन्द्रीय रास्वपाको केन्द्रीय कार्यालयबाटै पक्राउ पर्नुभएको थियो । त्यसको ८४ दिनपछि जिल्ला अदालत कास्कीको आदेशले पुस २५ मा धरौटी बुझाएर हिरासतमुक्त हुनुभएको थियो ।

लामिछानेका विरूद्धमा जिल्ला अदालत काठमाडौँले ६० लाख र जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटी लिएर मुद्दाको पूर्वपक्ष सुरू गरेको छ । आइतबार मात्रै लामिछानेले जिल्ला अदालत रूपन्देहीमा एक करोड धरौटी बुझाएर हिड्नुभएको थियो । उहाँको विरूद्धमा अझै चितवन र पर्सामा पनि मुद्दा बाँकी नै छ । त्यहाँको अदालमा थुनछेकको बहस बाँकी छँदा २ करोड २५ लाख धरौटी बुझाएर रवि अहिले तारेखमा हुनुहुन्छ ।

प्रकाशित मिति : January 27, 2025 at 2:03 pm