प्रधानमन्त्री ओली अस्वस्थ, सशस्त्र प्रहरीको कार्यक्रममा सहभागी भएनन्
९ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाँ अस्वस्थ भएको कारण “२४ औं सशस्त्र प्रहरी दिवस २०८१” को दिवाकालीन विशेष समारोहमा सहभागी हुनुभएन ।
प्रधानमन्त्री नआउनुभएपछि सशस्त्रले तत्कालै गृहमन्त्री रमेश लेखकलाई प्रमुख अतिथि बनाएर समारोह सुरू गरेको छ । सार्वजनिक रूपमा सशस्त्रले प्रधानमन्त्री व्यस्त रहनुभएकाले आउन नभ्याउनु भएको भनिए पनि ओलीको स्वास्थ्यमा समस्या देखिएको स्रोतले बताएको छ । प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्छ ।
मंगलबार ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्नुभएको थियो । ओलीले मंगलबार नै सगरमाथा संवादको घोषणा गर्नुभएको थियो भने, नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार अबेरसम्म बालुवाटारमै भएको एमालेको सचिवालय बैठकमा सहभागी हुनुभएको थियो ।
प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १२:०२