लाखौँ आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको घोषणा
७ माघ, काठमाडाैँ । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
उहाँलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराउनुभएको हो । यसअघि अमेरिकी उपराष्ट्रति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रति पदको सपथ लिनुभएको थियो । डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सोमबार सपथ लिनुभएको हो तर ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो ।
ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्व राष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो । राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले भन्नुभयो, “आजबाट अमेरिकाको स्वर्ण युगसुरु भएको छ । अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ।”
उहाँले अगाडि भन्नुभयो, “म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु।” “अमेरिकाको सार्वभौमिकता पुनस्र्थापित हुनेछ, सुरक्षा पुनस्र्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ,” उहाँले भन्नुभयो। ट्रम्पले न्याय विभागको अनुचित र पक्षपातपूर्ण प्रयोगको अन्त्य हुने पनि बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो ।” डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिनुभएको थियो । उहाँले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा सोमबार नै हस्ताक्षर गर्ने बताउनुभयो ।
ट्रम्पले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौँ ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने बताउनुभयो । सामान्यतया अमेरिकी क्यापिटल बाहिर हुने सपथ ग्रहण समारोह यस पटक चिसोका कारण हलमा गरिएको थियो ।
एजेन्सीहरूका अनुसार ट्रम्पले CBP One नामक सीमा एपको प्रयोग बन्द गर्ने निर्णय गर्नुभएको छ । जुन एपले आप्रवासीहरूलाई कानुनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न अनुमति दिएको थियो। अब अमेरिका जान चाहने मानिसहरूको लागि एक प्रमुख मार्ग बन्द भएको छ । योसँगै शरणमा प्रतिबन्ध लागू भएको छ भने सीमा शरणार्थीहरू पनि बन्द भएको छ । अमेरिकाका लागि यो एक असाधारण कदम भनेर व्याख्या गरिएको छ ।
सपथ लिएपछि ट्रम्पले करिब २०० कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताइएको छ । यीमध्ये केही निर्णय कानुनजस्तै कार्यान्वयन हुनेछन् भने केही घोषणा हुनेछन् । कार्यकारी आदेश राष्ट्रपतिको एक प्रकारको आदेश हो । यसलाई कार्यान्वयन गर्न कंग्रेसको अनुमोदन आवश्यक पर्दैन।
आदेश कानून सरकारका नीतिहरू लागू गर्ने एक तरिका हो, तर तिनीहरूलाई अदालतमा चुनौती दिन सकिन्छ। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले २२० कार्यकारी आदेश जारी गर्नुभएको थियो जसमध्ये धेरै अदालतमा विवादको हिस्सा बनेका थिए। यसको तुलनामा जो बाइडेनले १६०, ओबामाले २७७ र बुशले २९१ आदेश जारी गर्नुभएको थियो ।
प्रकाशित मिति : 00:21









