२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको भन्दै लहानका स्थानीय आन्दोलित

२६ पुस, सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए ।

आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ ।

आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो । उहाँले झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारी के–कति घाइते भएका यकिन नभएको बताउनुभयो ।

प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ ।

स्थिति सामान्य भएपछि चार घण्टापछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको थियो । स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते रू ३० लाख ‘ओडी’ ऋण लिएका थिए ।

झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म रू १९ लाख ९२ हजार सात सय ७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नुपरेको ऋणी यादवले बताउनुभयो ।

यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए । सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालबन्दी खुलेको थियो । सो वर्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास शारदा बताउनुहुन्छ ।

अध्यक्ष्य शारदाले भन्नुभयो, “दुई पक्षबीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो । यहाँ बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्याङ्कन ८० लाख गरेर रू ३० लाख ऋण स्वीकृत गरेको देखिन्छ । तर, चार वर्षपछि जग्गाको भाउ बढ्नुको साट्टा घटाएर रू ६५ लाख मूल्याङ्कन गरी रू ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ ।”

चलनचल्ती अनुसार रू एक करोड ४५ लाखमा बिक्री हुने जग्गा रू ३५ लाखमा लिलाम गरिदिएको पीडित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौँ । तर, त्यो बैंकले लिलाम गर्दा बेघर भयौँ । सोझो मान्छे जसरी पनि ठगिनेरहेछ । हामीलाई सरकारले न्याय गर्नुपर्छ ।”

यता कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले बताउनुभयो । उहाँले ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।

“हामीलाई प्राप्त सूचनाअनुसार २०७९ सालदेखि ऋणीले सावाँ ब्याज नबुझाएको र सम्बन्धित बैंकले चारपटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ । ग्राहकलाई प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानुनसम्मत रूपमा आउनुभयो राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ, हामी त्यो गर्छौँ ।”

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १३:२२