‘ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड’
११ पुस, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई कदर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘सभ्य समाजको आधारः ज्येष्ठ नागरिकमैत्री घर परिवार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुर्खेत वीरेन्द्रनगमा आज आयोजित ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८१’ मूल समारोहको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले जेठो पुस्तालाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोण समेत बदल्नुपर्नेमा जोड दिनुभयो ।
“ज्येष्ठ नागरिकहरूको योगदानका कारण आजको समाज सूचना र प्रविधिको यो युगमा आइपुगेको छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो, “उहाँहरूको सीप, कला र सिर्जनाको पुस्तान्तरण गर्नुका साथै भोगाई तथा अनुभव सुन्न र ग्रहण गर्न आवश्यक छ ।” यो धर्तीमा जन्मने हरेकले ज्येष्ठ हुनै पर्ने अवस्थालाई हृदयगम गरी ज्येष्ठ नागरिकहरूको योगदान र भूमिकालाई आजका दिनमा कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ज्येष्ठ नागरिकका लागि सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँहरूको कदर, सम्मान र हौसलाका लागि पालिकाले ‘चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो ।
महिला ज्येष्ठ नागरिक ९६ वर्षीया रामकली थारूले सरकारले गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने कामले आफ्नुलाई सकारात्तमक हौसला प्रदान गरेको र युले आयु बढ्ने काममा सहयोग पु¥याएको बताउनुभयो ।
पुरुष ज्येष्ठ नागरिक ९६ वर्षीय भक्तबहादुर गुरुङले ज्येष्ठ नागरिकप्रति परिवारले गर्ने व्यवहारका बारेमा यस्ता कार्यक्रमले सही सन्देश दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, ९१ वर्षीय श्रीप्रसाद ढकालले सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गरेर हौसला बढाएको प्रतिक्रिया दिनुभयो । उक्त कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्ने वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका वडाध्यक्ष टीकाराम शर्मालाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति : 17:02









