२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

राष्ट्रिय एकता विथोल्ने प्रयास असफल पार्न सबै जातजाति मिल्नुपर्छः प्रधानमन्त्री ओली

१५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताउनुभएको छ । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताउनुभयो ।

जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ ।” नेपालका विभिन्न जातजातिले मनाउने चाडपर्वमा सार्वजनिक बिदा दिने विषयमा आफूले विधिवत्रुपमा निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । गुरुङ समुदायका प्रतिनिधिले ‘तमु ल्होसारको बिदा कटौतीे’ भएको सम्बन्धी राखेको जिज्ञासामा उहाँले सरकार सबै जातजातिको जायज माग पूरा गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र नेपालीकै पक्षमा सरकारले निर्णय गर्छ ।”

लोकतन्त्र सबै जातजाति र भाषाभाषीका लागि हो भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएको स्मरण गर्नुभयो । भौगोलिकरुपमा सानो भए पनि सांस्कृतिकरुपमा विविधता हुनु देशका लागि सम्भावना भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै जातजाति, भाषाभाषी मिलेर लाग्दा नै समृद्धि र एकता सम्भव छ ।”

तमु महिला परिषद्का प्रतिनिधि शोभा गुरुङले देश र विदेशमा रहेका गुरुङ समुदायले आआफ्ना ठाउँमा जम्मा भएर नयाँ वर्षको स्वागत गरिरहेको बताउनुभयो । कार्यक्रममा समाजले विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने गुरुङ समुदायका व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार १८:११