प्रधानमन्त्रीको चीन भ्रमणः टोखा–छहरे सुरुङसहित यी आयोजनामा हुँदैछ हस्ताक्षर
१६ मंसिर, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणमा टोखा–छहरे सुरुङ मार्गसहित ६ आयोजनमा हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुरूङ मार्गसहित काठमाडौँ चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना लगायतमा हस्ताक्षर गर्ने गरी अनुमोदन गरेको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् । एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेकाले यस विषयमा पनि ठोस उपलब्धि हुनसक्ने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रुप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । यससम्बन्धी समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चीन भ्रमणका क्रममा गरिने बताइएको छ ।
नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि तयार भएको समझदारी पत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । समझदारी पत्रमा हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले प्रधानमन्त्री ओलीको यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीन भ्रमण सफलताका लागि शुभकामना दिने निर्णय पनि गरेको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार २२:२१