२४ मंसिर २०८१, सोमबार | Tue Dec 10 2024

स्थानीय तहमा पार्टी कामका समस्या पहिचान गरी समाधानको बाटो पहिल्याउँदै एमाले

-किरण देउजा 

१२ मंसिर, काठमाडाैँ । संगठनिक रूपमा प्रभावशाली र मजबुद मानिएको नेकपा एमालेले स्थानीय तहमा पार्टी कामका समस्या पहिचान गरी समाधानको बाटो पहिल्याउने भएको छ । एमालेको केन्द्रीय संगठन विभागले राष्ट्रिय कार्यशालको आयोजना गरी समस्याको पहिचान र समाधानको उपाय खोज्न लागेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख स्थयी कमिटी सदस्य भानु भक्त ढकालले जानकारी दिनुभयो ।

संगठन विभागको सदस्य समेत रहनुभएको ढकालले दैनिकीसँग कुरा गर्दै ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना २०८१’ कार्यान्वयन केन्द्रीत राष्ट्रिय कार्यशाला गर्न लागिएको बताउनुभयो । उहाँले कार्यशालामा  समसामयिक विषयको जानकारी दिने, स्थानीय तहको समस्याहरू र समाधानको विषय पहिचान गरी कार्यान्वयन गर्ने बताउनुभयो ।

ढकालले पार्टीलाई अझै जुझारू र गतिशिल कसरी बनाउने भन्नेबारेमा कार्यशालामा छलफल केन्द्रीत हुने बताउनुभयो । एमालेले केन्द्रीय मुख्यालय च्यासलमा यही मंसिर २९ र ३० गते कार्यशाला गर्ने गरी तयारी गरेको छ ।

स्थायी कमिटी सदस्य ढकालका अनुसार कार्यशालमा कुल ३०१ जना सहभागी हुनेछन । जसमा प्रदेश कमिटी र सोसरहका कमिटीका इन्चार्जहरू १२ जना, केन्द्रीय संगठन विभागका प्रमुखसहित १७ जना, प्रदेश कमिटीका पादधिकारी, संगठन विभाग प्रमुख र थप एक जना महिला प्रतिनिधि रहनेगरी ४४ जना सहभागी हुनेछन ।

यस्तै जिल्ला कमिटीका अध्यक्ष, सचिव र संगठन विभाग प्रमुख गरी १७६ जना, जनसंगठनका अध्यक्ष र महासचिव गरी ४६ जना र एमालेबाट महानगरपालिका र उपमहानगरपालिकामा निर्वाचित भएका ६ जना जनप्रतिनिधि गरी कुल ३०१ जना सहभागी रहनेछन ।

एमालेले कार्यशालामा सहभागी हुनेहरूसँग ११ विषयमा ४६ प्रश्न दिएर त्यसको लिखितै तयारी गर्न निर्देशन दिएको छ । पार्टी महासचिव शंकर पोखरेलले यही मंसिर ९ गते एउटा सर्कुलर जारी गर्दै यसको जानकारी दिनुभएको छ ।

कार्यशाला मार्फत नेकपा एमालेमा पछिल्लो समय नेताहरू बढी नै अराजक भएको र नेतृत्वको आलोचनामा खुला रूपमा उत्रिएको भनेर व्यापक गुनासोहरू सुनिएको छ । पार्टी सत्तामा हुँदा सरकारले गरेको कामको प्रचार र समस्याका विषयमा प्रतिरक्षामा उत्रन पार्टीका नेता कार्यकर्ताले मानिरहेको संकोचको पनि कारण खोजी हुने बुझिएको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १३:१९