२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

भूमि समस्या समाधान आयोगको अध्यक्षमा एमाले नेता हरिप्रसाद रिजाल नियुक्त

१३ कात्तिक, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकले आयोग बनाउने निर्णय गरेको हो । नेकपा एमालेको लुम्बिनी प्रदेशको अध्यमा पराजित हुनुभएको  प्यूठानको हरिप्रसाद रिजाल आयोगको अध्यक्षमा नियुक्त हुनुभएको छ । एमाले महासचिव शंकर पोखरेल निकट रहनुभएको उहाँले प्यूाठनमा प्रदेशसभा निर्वाचनमा पनि पराजय व्यहोर्नुभएको थियो ।

२०७४ सालको निर्वाचनमा प्यूठानबाटै प्रदेशसभामा विजयी हुनुभएको उहाँ लुम्बिनी प्रदेशको मन्त्री समेत बन्नुभएको थियो । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार सरकारमा सहभागी दलहरूको तर्फबाट भागवण्डा मिलाएर ८ सदस्यीय आयोग गठन गरिएको हो । आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की नियुक्त हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सिन्धुपाल्चोकका जगतबहादुर बस्नेत, झापाका अनिलकृष्ण प्रसाईँ, दार्चुलाका गोबर्द्धन ओली, महोत्तरीका गुन्जबहादुर खड्का, कैलालीका टेकबहादुर शाह र तनहुँकी आरती भण्डारी रहनुभएको छ ।

dainiki.com

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार २०:४१