बिपी विचार आत्मसात गर्न नसक्दा कांग्रेस सङ्कटमाः नेता गुरूङ
७ पुस, कास्की । बिपी विचार समाजका केन्द्रीय सभापति कूलबहादुर गुरुङले काङ्ग्रेसले बिपी विचार आत्मसात गर्न नसकेका कारण पार्टी सङ्कटमा पर्दै गएको बताउनुभएको छ ।
बिपी विचार समाज कास्कीद्वारा आज यहाँ आयोजित ‘बिपी विचार’ विषयक प्रशिक्षण एवं सङ्गठन विस्तार कार्यक्रममा उहाँले बिपी विचार आत्मसात गर्ने इमान्दार कार्यकर्ताको अभाव भएको उल्लेख गर्नुभयो । बिपीले देखाएको बाटोमा हिँडे काङ्ग्रेसमा कुनै सङ्कट नपर्नेमा उहाँको जोड छ ।
पूर्वसभामुख तारानाथ रानाभाटले काङ्ग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको गुनासो व्यक्त गर्नुभयो । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले बिपीले देखाएको बाटो भुल्दा पार्टी कमजोर बनेको उल्लेख गर्दै बिपी विचारलाई आत्मसात गर्नसके पार्टीको सवलीकरण हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर गुरुङ, लोकेश ढकाल, गण्डकी उपाध्यक्ष खेमराज पौडेल, सचिव फणिन्द्रराज कोइरालालगायतले बोल्नुभएको थियो । सो अवसरमा समाजको कास्की जिल्ला समिति घोषणा गरिएको थियो ।
समाजको संयोजकमा तीर्थ जङ्गली, सहसंयोजकमा पद्मशरण रेग्मी, सचिवमा फणिन्द्रराज कोइराला, सहसचिवमा कृष्णप्रसाद नेपाल, प्रवक्तामा कमल पौडेल अथक) र कोषाध्यक्षमा हीरादेवी शर्मा रहनुभएको छ । सदस्यमा खेम गुरुङ, कृष्ण रानाभाट, विष्णुराज पराजुली, देवराज पन्थी, राजु केसी, हरिप्रसाद शर्मा, रामजी कोइराला, देविजंग गुरुङ र सकुन्तला गुरुङ रहनुभएको छ ।
प्रकाशित मिति : ७ पुष २०७५, शनिबार २१:२१