प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड सहयोग
२० असोज, काठमाडौँ । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गर्नुभयो ।
बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो ।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।
प्रकाशित मिति : २० आश्विन २०८१, आईतवार १२:५२