कर्णाली प्रदेशकाे संसदीय दलको नेतामा मुख्यमन्त्री शाही चयन
३ पुस, सुर्खेत । कर्णाली प्रदेशकाे संसदीय दलको नेतामा मुख्यमन्त्री शाही चयन भएका छन् । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता सोमबार राती चयन गरिएको हाे । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कंडेलको प्रस्तावमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

यसैबीच, पुस १ गते बसेको संसदीय दलको बैठकले बनाएको विधान कार्यदलले तयार पारेको विधान संशोधनसहित सोमबार बसेको बैठकबाट पारित भएको छ । उक्त कार्यदलको संयोजकमा संसद गुलावजंग शाह थिए भने सदस्यमा सामाजिक विकास मन्त्री दल रावल र सांसद सीता नेपाली रहेका थिए ।
मुख्यमन्त्री शाहीले अब संसदीय दलले गति लिने बताएका छन् । उनले संसदीय दलको प्रमुख सचेतक, सचेतक, विभिन्न संसदीय समितिको संयोजकहरु तत्कालै चयन गरिने जानकारी दिए । उनले दलको विधानअनुरुप चल्ने र सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार ०९:५१












