पार्टीलार्इ पुनर्जीवन दिन हिन्दू राष्ट्रको पक्षमा लाग्नुपर्नेमा कांग्रेस महासमिति सदस्यको जोड
३ पुस, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई सुझाव दिनुभएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा उहाँहरुले पार्टी अब गुट उपगुटबाट चल्न नसक्ने बताउँदै महासमिति बैठकद्वारा पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले काङ्ग्रेसलाई अझै पनि पहिलो पार्टी बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि नेताहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
अर्का महासमिति सदस्य एवम् प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले ८७१ महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकाले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि जानकारी दिनुभयो ।
महासमिति सदस्य जगदिशनरसिंह केसीले पार्टीलाई अब सामूहिक नेतृत्वमा लैजानुपर्नेमा जोड दिदैं संविधानमै मुलुक धर्मनिरपेक्ष भएकोले अहिले महासमिति सदस्यहरुले हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति आफ्नो सम्मान रहेको बताउनुभयो ।
महासमिति सदस्य एवम् नेपाली काङ्ग्रेस जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले पार्टीलाई अब तल्लोस्तरबाटै शुद्धीकरण, सुदृढीकरण र एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य विष्णु धितालले काङ्ग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्ने बताउँदै विधानमा अब पदाधिकारीको सङ्ख्या बढाउनुपर्नेमा धारणा व्यक्त गर्नुभयो ।
अर्का महासमिति सदस्य मोहम्मद ईशाद अन्सारीले मुलुकलाई अब धार्मिक स्वतन्त्रतामा लैजानुपर्ने बताउँदै मधेशमा काङ्ग्रेसले आफ्नो जनमत किन गुमायो भन्नेबारे पनि यो महासमिति बैठकमा छलफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य तथा नेपाली काङ्ग्रेस प्रदेश नं ७ का संसदीय दलका नेता डा रणबहादुर रावलले गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो ।
अर्का महासमिति सदस्य लोकेश ढकालले काङ्ग्रेस अब हिन्दू राष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो । महासमिति सदस्य नगेन्द्र कुमालले काङ्ग्रेसले हिन्दू राष्ट्रको एजेण्डा उठाए कमल थापा नेतृत्वको राप्रपाकोजस्तै हालत हुने जिकिर गर्नुभयो ।
पूर्वगृह राज्यमन्त्री एवम् महासमिति सदस्य रामकुमार चौधरीले जब–जब काङ्ग्रेस कमजोर हुन्छ, तब–तब मुलुकको राष्ट्रिय एकता कमजोर भएको धारणा व्यक्त गर्नुभयो । महासमिति सदस्य नन्दमणि राईले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको बताउनुभयो । महासमिति सदस्य सीता देवकोटाले पार्टीलाई विचारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार ०७:५५