एन आई सी एशिया बैंकलाई बेस्ट इन डिजिटल बैंकिङ अवार्ड
१० भदौ, काठमाडौँ । एन आई सी एशिया बैंकलाई बेस्ट इन डिजिटल बैंकिङ अवार्ड प्राप्त गरेको छ। दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवार्ड अन्तर्गतको बेस्ट इन डिजिटल बैंकिङ अवार्ड एन आई सी एशिया बैंकले प्राप्त गरेको हो ।
सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले विज्ञप्ति जारी गर्दै यस विषयको खुशी बाँड्नुभएको छ। बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङ मा अझ बढी उत्प्रेरणा प्रदान गरेको जनाएको छ ।
इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवार्ड अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा एन आई सी एशिया बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।
प्रकाशित मिति : August 26, 2024 at 9:23 am










