६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

कांग्रेसको महासमिति बैठक अाजदेखि, शेरबहादुर देउवाकाे विकल्पका बारेमा होला त छलफल ?

२९ मंसिर, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजबाट शुभारम्भ हुँदैछ । बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भईसकेको छ । महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा शुभारम्भ हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठक आगामी पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् ।

उद्घाटनलगत्तै सुरु हुने बन्दशत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच विषयका दस्तावेज पेश हुनेछन् । बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले साङ्गठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ । महासमिति बैठकमा उक्त प्रतिवेदन छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने प्रवक्ता शर्माले बताउनुभयो । त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ ।

तस्बीरमा पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला । कोइरालाले देउवाको विकल्प खोज्नुपर्नेमा सबैभन्दा बढी अावाज उठाएका छन ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्काे महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ । त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एक पटक हुने उल्लेख भए पनि २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन ।

काङ्ग्रेसकै नेृतत्वको सरकारमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि काङ्ग्रेसकै नेतृत्वको सरकारले गरेका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पार्टीले नराम्रो पराजय भोगेपछिको अवस्थामा यो बैठक हुन लागेको छ । पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने काङ्गे्रसजनको अपेक्षा छ ।

सार्वजनिक कार्यक्रमहरू शेरबहादुर देउवाको विकल्प खोजिरहेका नेता रामचन्द्र पाैडेल समूहका नेताहरूले सभापतिको विकल्प खोज्ने विषयमा पनि छलफल हुने बताउँदै अाएका थिए । उनीहरूले देउवा अाफू पनि असफल भएको र कांग्रेसलार्इ पनि असफल पारेको अारोप लगाउँदै अाएका छन । कांग्रेसका नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा शेखर कोइराला लगायतको देउवाको विकल्प खोज्नुपर्ने भन्दै हरेकजसो सार्वजनिक कार्यक्रमा अभिव्यक्ति दिँदै अाएका छन ।

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार ११:१०