२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेपाल राष्ट्र बैंकले गर्‍यो आयात सहजीकरण, चाँदी आयातको सीमा बढ्यो

१८ साउन, काठमाडौं । भारत बाहेक तेस्रो मुलुकबाट नेपाल राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने गरी ‘डकुमेन्ट एगेन्स्ट पेमेन्ट’ (डीएपी) र ‘डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स’ (डीएए) को माध्यमबाट हुने आयातको सीमा बढाएको छ ।

राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्रामा डीएपी र डीएए मार्फत् आयात गर्ने सीमा ६० हजार अमेरिकी डलरबाट १ लाख अमेरिकी डलर पुर्‍याएको छ । ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको सीमा समेत राष्ट्र बैंकले बढाउँदै ३५ हजार अमेरिकी डलरबाट ५० हजार अमेरिकी डलर पुर्‍याएको हो ।

सुनचाँदीको कारोबार गर्ने व्यवसायीले गरगहना, हस्तकला जस्ता सामान बनाउन तथा आवश्यक पर्ने चाँदी बैंकहरूबाट १ लाख अमेरिकी डलरसम्मको चाँदी खरिद गर्न सक्ने भएका छन् ।

त्यसैगरी, सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा बैंकहरूले प्रति पटक तीन लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई चाँदी आयातमा भुक्तानी सीमा लागु हुने छैन ।

प्रकाशित मिति : 15:44