इजरायलको मृतसागर र सगरमाथाबीचको सम्बन्ध प्रचार गरेर नेपालमा पर्यटक बढाउँछुः प्रस्तावित राजदूत शाक्य
२४ मंसिर, काठमाडौँ । केही हप्ता अघि सरकारले प्रस्ताव गरेका विभिन्न देशका राजदूतको संसदीय सुनुवाई समितिमा सुनुवाई भएको छ । भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि प्रस्तावित डा. अञ्जान शाक्यको बारेमा सुनुवाई भएको हो । प्रस्तावित राजदूतले समितिमा आ–आफ्ना योजना सुनाएका छन् ।
इजरायलसँगै साइप्रसका लागि प्रस्तावित राजदूत डा। शाक्यले इजरायलबाट अत्याधुनिक कृषि प्रविधि भित्र्याएर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन प्रयास गर्ने बताउनु भएको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले २ दशमलव ३ प्रतिशत इजरायलीहरुले अत्याधुनिक प्रविधियुक्त कृषि पेशा गरी इजरायललाई कृषिमा आत्मनिर्भर बनाई बाहिर निर्यात गरिरहेको प्रसँग उल्लेख गर्दै त्यस्तै प्रविधि नेपालमा भित्र्याउन र नेपाललाई पनि कृषिमा आत्मनिर्भर बनाउन मैले इजरायल सरकारसँग विशेष पहल गर्ने बताउनुभयो ।
संसदीय सुनुवाईका क्रममा उठेका प्रश्नहरुको जबाफ दिने क्रममा उहाँले इजरायल र साइप्रसका पर्यटक नेपालमा ल्याउन विशेष योजनाका साथ काम गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो– ‘इजरायलको मृतसागर र हाम्रो सगरमाथाबीचको सम्बन्ध प्रचार गरेर नेपालमा इजरायलका पर्यटक बढाउने छु । मृत सागरमा सगरमाथाको ढुंगा राखिएको छ भने सगरमाथाको आधार शिविरमाथि मृत सागरको ढुंगा ल्याएर मूर्ति बनाइएको छ । यसको प्रचारप्रसारले पर्यटक बढाउन सहयोग पुग्नेछ ।’
उहाँले इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याएर स्मार्ट सिटी, स्मार्ट कन्ट्री बनाउन विशेष पहल गर्ने पनि स्पष्ट पार्नुभयो ।
डा. शाक्यले नेपालसँग इजरायल र साइप्रसको सम्बन्ध अझ बढी मजबुत र प्रगाढ बनाउँदै आर्थिक तथा उद्योग वाणिज्य क्षेत्रमा थप सहायोग अभिबृद्धि गर्न आवश्यक प्रयास गर्ने पनि बताउनुभयो । उहाँले इजरायल र साइप्रसबाट प्रत्यक्ष लगानी नेपाल भित्र्याउन आफूले कूटनीतिक प्रयास गर्ने बताउँदै त्यहाँ कार्यरत नेपाली कामदारको सेवा,सुविधा बृद्धि तथा सुरक्षाका लागि काम गर्ने साथै थप नेपालीका लागि रोजगारीको अवसरको बढाउन इजरायल र साइप्रस सरकारसँग कुरा गर्ने बताउनुभयो । हाल इजरायलमा चार हजार र साइप्रसमा तीन सय नेपाली कामदार कार्यरत छन् ।
नेपाल सरकारले परराष्ट्रविद् डा. शाक्यलाई इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले डा। शाक्यलाई राजदूतमा सिफारिश गरेको थियो। सरकारले इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत निरञ्जनकुमार थापालाई तीन साताको तयारी म्याद दिई फिर्ता बोलाएको छ ।
इजरायल तथा साइप्रसका लागि राजदूत सिफारिस डा। शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी छिन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समयसम्म काम गरी निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालि सक्नुभएकी डा. शाक्यले परराष्ट्र मामिलामा विशेष दखलता हासिल गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेको लामो अनुभव समेत रहेकी डा। शाक्य नेपाल महिला चेम्बर्स अफ कमर्सको अध्यक्ष भएर विदेशी लगानी नेपालमा भित्र्याउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने कार्य गर्नुभएको छ । लामो समयदेखि सोही क्षेत्रमा क्रियाशील डा. शाक्यले ‘नेपाल —चाइना रिलेसन, ‘नेपाल —इन्डिया रिलेसनल’, नेपाल–जापान सम्बन्ध लगायतका आधा दर्जन पुस्तक सम्पादन कार्य समेत गर्नुभएको छ ।
उहाँले पद्मकन्या कलेजमा विसं. २०५२ सालदेखि करिब एक दशक प्राध्यापन गर्नुभएको थियो । उहाँले अमेरिकी युनिभर्सिटी अन्तर्गतको पे्रसिडेन्सियल कलेजमा पनि प्राध्यापन गर्ने कार्य पनि गर्दै आउनुभएको छ । यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोल लगायत दर्जनौँ चर्चित राष्ट्रिय गीतका गायिका डा।शाक्यले डेढदशक अघि नेपाल टेलिभिजनको समाचार वाचिका भएर पनि काम गर्नुभएको थियो ।
प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार ०७:५९