नागरिक समाजलार्इ प्रधानमन्त्रीको अनुरोधः ‘अाउनुहोस् भ्रष्टाचारविरूद्ध सँगै मिलेर काम गराैँ’
२३ मंसिर, काठमाडाैँ । भ्रष्टाचारविरूद्ध ऐक्यबद्ध नागरिक समाजले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्न माग गरेको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा समाजले आज प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठलाई भेटी सो माग गरेको एक्यबद्धता अभियानका एक जना सदस्य एवं गोगो फाण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले जानकारी दिनुभयो ।
समाजले प्रधानमन्त्री ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि स्थापना भएका संयन्त्रहरु छरिएर रहेकाले विभिन्न अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा काम गर्न सक्ने र परिणाम दिन सक्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सशक्त बनाउन माग गरेको हो । भ्रष्टाचारविरुद्धका प्रदेश र स्थानीय तह अनुकूल संरचना निर्माण र कार्यान्वयन, मन्त्रालयस्तरबाटै गर्नुपर्ने ठेक्कापट्टासम्बन्धी निर्णयहरु मन्त्रिपरिषद्बाट हुने परिपाटीको अन्त्यलगायतका माग विषयमा समाजले ध्यानाकर्ण गराएको छ ।
नागरिकस्तरबाट गरिएको यस पहललाई प्रधानमन्त्री ओली र सभामुख महराले सकारात्मक रुपमा लिएर आगामी दिनमा अगाडि बढ्ने र भ्रष्टाचारविरुद्ध कटिबद्ध भई लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारविरूद्ध साँगै मिलेर काम गर्न नागरिक समाजका सदस्यहरूलार्इ अपिल समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहो¥याउनु भएको हो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ, गर्न दिन्न भन्नेमा मेरो प्रयास जारी छ ।” उहाँले कुनै पनि राज्यका जिम्मेवार पदाधिकारी र कर्मचारीलाई आफू मातहतका व्यक्तिसँग नगिर्ने गरी काम गर्न आग्रह गर्दै भन्नुभयो, “मैले भ्रष्टाचार गर्न मन्त्रीहरु र मुख्यमन्त्रीसँग गिर्नुपर्छ, त्यस्तो म गर्दिन र अरुले पनि नगर्नुहोला । तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु पर्ने छैन । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र असहिष्णु नीति रहनेछ ।”
उहाँले ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक प्रतिवेदनमा भ्रष्टाचारको सूचकाङ्कलाई आगामी दिनमा सकारात्मक र व्यापक फेरबदल ल्याउने गरी काम गरिने विश्वास व्यक्त गर्दै नागरिक समाज र सञ्चार क्षेत्रले पनि त्यसमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
ज्ञापनपत्र बुझाउन अख्तियार दुरूपयोग अनुसन्धान अायोगका पूर्व प्रमुख अायुक्त, पूर्वनिर्वाचन आयुक्त तथा राजदूत सूर्यप्रसाद श्रेष्ठ, पूर्वमूख्यसचिव दामोदर गौतम, अनुसन्धान विज्ञ द्वारिकानाथ ढुङ्गेल, भ्रष्टाचारविरुद्धका अभियन्ता गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खडका, गैरसरकारी महासङ्घका अध्यक्ष जीतराम लामा,अधिवक्ता ज्योति बानियाँ, अधिवक्ता विष्णु पोखरेल, भ्रष्टाचारविरूद्ध नागरिक अभियन्ताहरू पोष्ट केसी, रेखा श्रेष्ठ तथा पत्रकार अनिता विन्दु र माधव तिवारी लागयत ३० भन्दाबढी नागरिक समाजको प्रतिनिधिहरु सङ्लग्न हुनुहुन्थ्यो ।
प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार २२:१४