३ श्रावण २०८१, बिहीबार | Fri Jul 19 2024

घाँसको अभाव भएका किसानले पनि दूधका लागि पाल्न मिल्ने बाख्रा ‘सानन’


१० असार, हेटाैँडा ।  आम उपभोक्ता र कृषकहरुलाई समेत दुध भन्नेबित्तिकै गाई र भैसीको तस्बिर मानसपटलमा आइहाल्छ तर दैनिक चार लिटर दुध दुहुन मिल्ने ‘सानान’ जातको बाख्रा पनि हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली गोठमा पनि बाख्राको दुध उत्पादन हुने भएको छ । आम रुपमा हाम्रो गाउँघरमा पाईने बाख्रा भनेको खरी र जमुनापारी हो जसलाई दुध होइन मासुको लागि उपभोग गर्ने गरिइएको छ अबभने गाई भैंसी पाल्न नसक्ने र सानो क्षेत्रको साथै घाँसको अभाव भएका किसानले दूधका लागि पाल्न मिल्ने बाख्रा, बाख्रा विकास फार्म चित्लाङले तयार गरिरहेको हो ।

बर्षमा दुईपटक ब्याउने र प्रतिबेत करिब आठ सयदेखी एक हजार लिटर सम्म दुध दिने ‘सानान’ जातको बाख्रा अब गाउँघरमा मात्र होइन शहर बजारमा पनि पाल्नको लागि तयार भैरहेको छ । बाख्राको दुध छिमेकी मुलुकमा लिटरको रु. एक हजार मुल्यमा बिक्री भइरहेको बताउदै अब नेपाली किसानको गोठमा पनि उक्त बाख्राको दुध उत्पादन गर्न सक्ने अबस्था रहेको बाख्रा विकास फार्म चित्लाङका फार्म प्रबन्धक विश्वेश्वर प्रसाद यादवले जानकारी दिनुभयो । यद्यपी नेपाली बजारमा भने मुल्य निर्धारण बाँकी रहेको उहाँ बताउनुहुन्छ । उहाँको अनुसार नेपालमा बि.सं २०७२ सालमा स्वीजरल्याण्डबाट ल्याइएको उक्त बाख्रा हालसम्म जग्मा ३५ वटा भएको र अब किसानलाई पालनको लागि वितरण गर्दै जाने बताउनुभयो ।

आम किसानलाई दुधको लागि पाल्न मिल्ने ‘सानान’ जातको बाख्रा बितरणको लागि बाख्रा विकास फार्म चित्लाङले तयारी गरिरहेको छ । दूध उत्पादनको लागि पालिने बाख्रा भएकाले यसलाई गरिबको गाई भन्न मिल्ले उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दूध दिने गरेको छ, बाख्राले बच्चालाई दूध खुवाएर पनि यतिधेरै दूध आउने भएकाले यो गरिबको गाई पनि हो । ” उहाँले थप्नुभयो “हामीले लोकल बाख्रा र सानान जातको क्रस पनि हामिले उत्पादन गरिसकेका छौं, जसलाई नेपालको कुनैपनि हावापानिमा पाल्न मिल्छ र बलिया र निरोगी पनि रहेका छन् ।” बिषेशगरी दुधमा आत्मनिर्भर हुन र शहर बजारमा पनि आफ्नै उत्पादनको पोसिलो दुधको लागि यो बाख्राको क्रस जात जझ उपयुक्त रहेको उहाँको भनाई छ । क्रस जातले पनि करिब चार लिटरको हाराहारीमा दुध दिइरहेको प्रबन्धक यादवको भनाई छ ।

प्रबन्धक यादवले सानो परिवारलाई तीनदेखि चार लिटर दैनिक दूध हुँदा मनग्य पुग्ने गरेको बताउँदै बाख्राको दूधमा कोलेस्ट्रोलको मात्र शून्य भएकाले यो संसारकै उत्कृष्ट भएको जानकारी दिनुभयो । कृषि तथा खाद्य सुरक्षा आयोजना मार्फत बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर हाल बढाउँदै ३५ वटा पुर्याइएको फार्म प्रबन्धक यादवले जानकारी दिनुभयो । सानन जातको वयस्क बोकाको तौल ९० देखि १०० केजीसम्म हुने र बाख्राको तौल ७५ देखि ८० केजी सम्म हुने गरेको प्रबन्धक यादवको दाबी छ ।

प्रबन्धक यादवको अनुसार भर्खर जन्मेकादेखि जुनसुकै उमेर समूहले बाख्राको दूध खान मिल्ने बताउदै उक्त दुध प्रेसर, सुगर भएका बिरामीलाई पनि पिउन उपयुक्त रहेको बताउनुहुन्छ । सरकारी दररेट अनुसार सानन जातको पाठापाठी प्रतिकेजी एकहजारका दरले फार्म मार्फत बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतह देखि १५००–२५०० मिटर सम्मको उचाइका क्षेत्रमा (दक्षिण मोहडा फर्केको पहाडी भेगमा अझ उत्तम) सफलतापूर्वक पालन गर्न सकिने फार्म प्रबन्धक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त जातका बाख्रा अन्य जातका बाख्राहरू भन्दा चाडो हुर्कने र दुध उत्पादनको लागि पालिने भएकोले यिनीहरूको आहाराको मात्रा अन्य जातका बाख्रालाई भन्दा बढाएर दिनुपर्ने हुन्छ । सामान्यतया हाम्रो स्थानीय खरी बाख्रालाई शारीरिक तौलको २.५ प्रतिशत देखि ३ प्रतिशतसम्म सुख्खा पदार्थ भए पुग्नेमा सानन बाख्राको लागि कम्तिमा शारीरिक तौलको ४ प्रतिशतका दरले सुख्खा पदार्थ चाहिने उहाँले जानकारी दिनुभयो । सानन बाख्राको लागि जीवन निर्वाह, शारीरिक बृद्धि, प्रजनन, गर्भावस्थाका लागि पोषणको आवश्यक पर्दछ ।

तत्कालीन राणा शासकले २००१ सालमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म)ले माग अनुसार किसानहरूलाई बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भन्दा तेब्बर बढीले किसानबाट बाख्राको माग आएको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममा शुद्ध नश्लको बाख्रा पाइने विश्वासले किसान र व्यवसायिक बाख्रा पालन गर्दै आएकाहरूले माग धेरै गर्ने गरेको फार्म प्रबन्धक यादवले बताउनुभयो । फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन थरीको बाख्रा उत्पादन गर्दै आइरहेको हो ।

फार्मलाई चरिचरण क्षेत्रमा बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडा पालनमा समस्या हुँदै आएको छ । फार्ममा जग्गा पर्याप्त भएपनि चरिचरण क्षेत्र थोरै भएकाले वर्षको ६ महिना अर्थात बर्खे समयमा मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । फार्मले वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने र हिउँदको घाँस अभाव टार्ने गर्दै आएको थियो । फार्ममा बाख्रा, भेडा, मासुको लागि खरायो र दुधको लागि जर्सी गाई पालन गरिएको छ । फार्म पर्यटकीय स्थलका रुपमा पनि चर्चित छ ।

झट्ट हेर्दा च्याङग्राको जस्तो सिङभएको सेतो रौं, छोटा र ठाडा कान, मिलेको शरीर भएको शुद्ध सानन जातकोे बाख्रा प्रतिकेजी एक हजारको दरले उपलब्ध गराइने यादवले जानकारी दिनुभयो । खरी बाख्रा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्ने गरिएको उहाँको भनाइ छ । किसानहरूले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्मले बाहिरी जिल्लामा बाख्रा बिक्रीलाई प्राथमिकता दिने गरेको यादव बताउँछन् ।

दूध उत्पादनका लागि विश्वविख्यात बाख्राको जातमा पर्ने सानन पहिलो पटक १० देखि १२ महिनाको उमेरमा बालि जाने र ब्याएपछि ८ देखि १० महिनासम्म दूध दिईरहन्छ । यो जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी पनि भन्ने गरिएको छ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाको सीमाना चित्लाङमा रहेको सरकारी बाख्रा विकास फार्ममा अमेरिकाबाट ल्याईको र अमेरिकी तथ्याङ्क अनुसार प्रति वेत २००० लिटरको हाराहारीमा दूध उत्पादन रेकर्ड भएता पनि यस फार्मको रेकर्ड अनुसार प्रति वेत ८०० देखि १००० लिटर दूध उत्पादन रेकर्ड पाइएको छ ।  रासस

प्रकाशित मिति : १० असार २०८१, सोमबार २०:५७