मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरू
१३ जेठ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ ।
यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ । अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी एक्सपायरी पप-अप देखिएपछि ‘रिन्यू नाउ’ मा क्लिक गर्नुपर्ने हुन्छ ।
त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापन पछि ‘कन्टिन्यू’ थिचेर आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ ।

यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो राष्ट्रिय परिचय पत्र, प्यान तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।
बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ। मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्ने बैंकको भनाइ छ ।
प्रकाशित मिति : May 27, 2026 at 1:14 pm









