१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

निशा डाँगीको प्रश्नः नयाँ संसद भवनको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?

१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की  सांसद निशा डाँगीले संसद् भवनमा प्रयोग हुने फर्निचरमा स्वदेशी काठको प्रयोग गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डाँगीले काठमा परनिर्भरता बन्द गर्नुपर्ने बताउँदै त्यसको सुरूवात निर्माणधीन संसद भवन र सिंहदरबारबाट गर्नुपर्ने बताएकी छन्।

उनले निर्माणधीन संसद भवनको प्रतिनिधि सभा हलका कुर्सी बनाउन कुन काठकाे प्रयाेग गरेकाे भन्दै प्रश्न गरेकी छन्।  ‘सरकारलाई आग्रह गर्छु। परनिर्भरता बन्द गर्नैपर्छ। सुरूवात यही संसद भवन र सिंहदरबारबाट गरौं । दुई–तीन पछि हामी नयाँ संसद जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरु बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’’

महालेखा परीक्षकको कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा नेपालको काठको उचित उपयोग नहुँदा वार्षिक अर्बौ रूपैयाँ बराबरका काठजन्य सामग्री आयात भइरहेको उल्लेख भएको उनले बताइन् । सरकारको नीतिमा प्रश्न उठाउँदै उनले भनिन्, ‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’

प्रकाशित मिति : May 27, 2026 at 12:52 pm