कांग्रेसको चेतावनीः विदेशीलाई सूचना बेचेको प्रमाणित गर्न नसके गृहमन्त्रीलाई सदनबाट गलहत्याउँछौँ
८ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताए । “कांग्रेस आफ्नो अडानमा कायम छ । बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ”, उनले भने ।
सांसद पाण्डेले सहकारी ठगीसम्बन्धमा सञ्चारमाध्यममा थप नयाँ विषय सार्वजनिक भइरहेका उल्लेख गर्दै गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला वर्तमान गृहमन्त्री रवि लामिछानेलगायत अन्य व्यक्तिले विभिन्न सहकारीबाट ठूलो रकम ऋण लिएका र विभिन्न तहबाट त्यसबारेमा छानबिन भइरहेको बताए ।
यस्तै सहमहामन्त्री पाण्डेले देशको सूचना बेच्ने संसद् भित्रका एजेन्ट प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती समेत दिएका छन् । प्रमाणित गर्न नसके गृहमन्त्रीलाई सदनबाट गलहत्याएर बाहिर पठाउने समेत बताए ।
पाण्डेले भने, ‘गृहमन्त्रीले राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही सदनमा छन् भन्नु भएको छ । माननीय गृहमन्त्री त्यो को हो ? देखाउनुस् उसलाई गलहत्याउन हामी तपाईँको पछि लाग्छौं’, ‘होइन निराधार आरोप लगाउँदै हुनुहुन्छ भने, तपाईँलाई सदनबाट गलहत्याउने कामबाट चुक्ने छैनौं ।’
गृहमन्त्री रवि लामिछानेले यसअघि आइतबार प्रतिनिधि सभा बैठकमा देशका सूचना बेच्ने एजेन्ट यही संसद्मा रहेको आरोप लगाएका थिए ।
सांसद बद्री पाण्डेले गृहमन्त्रीले बोलेको कुरा प्रमाणित गर्न नसके संसद्को रेकर्डबाट हटाउनु पर्ने बताए । पाण्डेले भने, ‘सभामुखलाई आग्रह गर्न चाहन्छु, उहाँले लगाएका आरोप सत्य हुन भने प्रमाणित गरेर देखाउनुस् । होइन भने संसद्को रेकर्डबाट हटाउन सभामुखको रूलिङ चाहियो’ ।
प्रकाशित मिति : 13:52









