१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

विपक्षी दलहरुले संसदमा गृहमन्त्रीको जवाफ सुन्ने, चित्त बुझे संसद् चल्न दिने

६ जेठ, काठमाडौं । विपक्षी दलले गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने निर्णय गरेकाे छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो ।

गृहमन्त्रीले दिएकाे जवाफमा चित्त बुझे संसद चल्न दिने निर्णय बैठकले गरेकाे छ । जवाफ चित्त नबुझे प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने जनाइएकाे छ ।

देउवाले विपक्षी दलहरुको साझा धारणा बनाउन आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो ।

सहकारी प्रकरणको छानबिन गर्न दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भएको छ । कार्यादेश टुंगो लगाउन एमाले नेता एवम् कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार ११:४३