१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।आजको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए । उनले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गरिन् ।

सचतेक थिङले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक रु एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुदैन भनी सरकारसँग प्रश्न गरिन् । साथै उनले सो सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराएकी थिइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिईरहे पछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि सत्ता पक्षका सांसदहरु पनि आसनबाट उभिएपछि सभामुखले सदन सञ्चालन गर्नका लागि बस्न पटक–पटक आग्रह गरेका थिए

कांग्रेस सांसदहरु आसनबाट उभिइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १३:२६