१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे र विष्णुदेवीले दर्ता गराए उम्मेदवारी

२७ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेकपा एमालेका तर्फबाट विमला घिमिरे र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् ।

घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् । त्यस्तै, पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ता गर्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गरिन् ।

उनले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।  यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताइन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १२:३९