समस्याग्रस्त सेयर मार्केट्सको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन
१३ चैत, काठमाडौँ। समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले यसअघि फागुन १४ मा कम्पनी सञ्चालनका लागि दुई व्यक्ति सम्मिलित व्यवस्थापन समितिको आवेदन खुला गरिएको थियो । तर राष्ट्र बैंकले तोकेको योग्यताअनुसार संयोजक पदमा आवेदन नपरेपछि चैत ७ गते पुनः आवेदन आह्वान गरिएको थियाे ।
माग गरिएको उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नाकोत्तर गरेको र बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने जनाइएको छ ।
व्यवस्थापक संयोजकको सेवा अवधि १ वर्ष रहेको र कार्य अवधि समाप्त भएपछि पनि कार्यप्रगतिका आधारमा ६/६ महिना गरी २ पटकका लागि म्याद थप्न सकिने राष्ट्र बैंकले खुलाएको आवेदनमा उल्लेख छ ।
प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १०:५५












