१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

सहकारी ठगीको अभियोगमा गृहमन्त्री रवि लामिछानेलाई संसदको रोष्ट्रमबाट ‘क्लिन चिट’

६ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीको अभियोगमा गृहमन्त्री रवि लामिछानेलाई संसदको रोष्ट्रमबाट ‘क्लिन चिट’ दिएका छन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई ‘क्लिन चिट’ दिएका हुन ।

प्रधानमन्त्रीले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारेका छन । उनले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन । “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।”

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रचण्डले भने, “हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।”

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १३:११