१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

अहिले नेपालको बैङ्किङ क्षेत्र दक्षिण एसियामै राम्रो छः अध्यक्ष केसी

३ चैत, काठमाडाैँ । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय नेपालको बैङ्किङ क्षेत्रका बारेमा विभिन्न खालका चुनौतीको सामना गर्नु परेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कले शनिबार आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा सम्बोधन गर्दै उहाँले अहिले नेपालको बैङ्किङ क्षेत्र निकै राम्रो अवस्थामा रहेको दावी गर्नुभयो ।

“बैङ्किङ क्षेत्रका सबै सूचक सहज रुपमा रहेका छौँ । तरलताका हिसाबले सहज अवस्था छ । पुँजीका हिसाबले पनि सक्षम अवस्थामा रहेका छौं”, उहाँले भन्नुभयो, “विभिन्न सूचकहरुलाई हेर्ने हो भने अहिले नेपालको बैङ्किङ क्षेत्र दक्षिण एसियामै राम्रो छ । मौद्रिक सूचक सकारात्मक छन् । विदेशी मुद्रा सञ्चिति पर्याप्त छ । भुक्तानी सन्तुलन कायम भएको छ । राजस्व बढ्दो क्रममा छ ।” उहाँले बैङ्किङ क्षेत्रमा करिब रु ६१ खर्ब बराबरको निक्षेप संकलन र रु ५१ अर्ब बराबरको कर्जा प्रवाह भएको बताउनुभयो ।

मुलुकको आर्थिक विकासका लागि सहयोग गर्नसक्ने महत्वपूर्ण क्षेत्रमा रुपमा बैङ्किङ क्षेत्र स्थापित भइसकेको उहाँले दाबी गर्नुभयो । बैङ्किङ क्षेत्रबाट भएको लगानीले भोलिका दिनमा ठूलो परिवर्तनको सम्भावना देखिएको उल्लेख गर्नुहुँदै उहाँले जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा भएको लगानीले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा नै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अबको लगानी आर्थिक विकासलाई केन्द्रीत हुनेगरी गर्नुपर्ने केसीको भनाई छ । पर्यटन, सेवालगायतका क्षेत्रलाई पनि लगानीको केन्द्रमा राखेर कर्जा विस्तार गरिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानीका लागि उहाँले बैङ्किङ क्षेत्रलाई आग्रह गर्नुभयो । विदेशबाट नेपालमा लगानी भित्र्याउनका लागि नेपालका बैंङ्कसँग सहकार्य गर्नसक्ने पर्याप्त अवसर र सम्भावना रहेको उहाँले बताउनुभयो ।

बैङ्किङ क्षेत्र सुधारका लागि सरकारसँग पनि केहि अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतीको चरणमा रहेकोमा पूर्वाधार विकासका लागि पर्याप्त लगानी आवश्यक पर्ने अध्यक्ष केसीले बताउनुभयो । त्यस्तै, आगाी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनमार्फत् पनि विभिन्न क्षेत्रमा लगानीका क्षेत्र पहिचान हुनेमा बैङ्किङ क्षेत्र आशावादी रहेको बताउनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार २१:००