१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

आयोगको प्रतिवेदन अनुसार सुन तस्कर माथि कारबाही चलाउने सरकारको निर्णय

२ चैत, काठमाडाैँ । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । सरकारले नेकपा एमाले लगायतका दलको मागमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को अनुसार जाँचबुझ आयोग गठन गरेको थियो ।

सरकारले प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकपछि जानकारी दिएकी छिन । आयोगले बिहीबार मात्रै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ प्रतिवेदन हस्तान्तरण गरेको थियो । उक्त प्रतिवेदन लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

प्रतिवेदनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्न सिफारिस गरेको छ । त्यस्तै सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको भूमिकामाथि पनि प्रश्न उठाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १९:५८