८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

चैतदेखि बैंकहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दति निक्षेपमा १ प्रतिशत कम ब्याज दिनुपर्ने

१० फागुन, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षपकर्तालाई दिनेभन्दा संस्थागत निक्षेपकर्तालाई १ प्रतिशतभन्दा कम मात्रै ब्याज दिनुपर्ने भएको छ । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकले सर्कुलर जारी गर्दै व्यक्तिगतभन्दा १ प्रतिशत कममात्रै संस्थागत मुद्दति दिन पाउने व्यवस्था गरेको हो । यो व्यवस्था २०८० चैत १ देखि लागु हुने राष्ट्र बैंकले जनाएको छ।

‘संस्थागत मुद्दति निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ, उपयुक्त बमोजिमको व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ,’ राष्ट्र बैंकको नियमन विभागले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतमुद्दति निक्षेपमा दिएको ब्याजभन्दा संस्थागत मुद्दति निक्षेपमा २ प्रतिशत कम ब्याज दिँदै आएका छन् । चैतदेखि भने व्यक्तिगतको तुलनामा १ प्रतिशत मात्रै कम ब्याज दिए हुन्छ।

राष्ट्र बैंकले बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था भने खारेज गरेको छ। यसैगरी कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : February 22, 2024 at 1:58 pm