८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

राष्ट्र बैंकले तीन महिनामा बैंकिङ प्रणालीबाट तान्यो ५ खर्ब ६५ अर्ब

३ फागुन, काठमाडाैँ ।  बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गएकाे छ । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले तीन महिना (गत मंसिरदेखि माघसम्म) मा २७ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ५ खर्ब ६५ अर्ब रुपैयाँ तानेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ ।

विशेषगरी अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि रहेको अवस्थामा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने गर्दछ। यसका लागि राष्ट्र बैंकले ७ दिने वा १४ दिने निक्षेप संकलन उपकरण प्रयोग गर्ने गरेकाे छ ।

बैंकहरुमा तरलता थुप्रिपछि राष्ट्र बैंकले गत मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गरी १ खर्ब २५ अर्ब रुपैयाँ तोकेको थियो। केन्द्रीय बैंकले फेरि पुसमा १० पटक यो उपकरणमार्फत २ खर्ब १५ अर्ब रुपैयाँ र माघमा ९ पटक यही उपकरणबाट २ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो। यो तीन महिनामा राष्ट्र बैंकले ५ खर्ब ६५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

माघ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ६१ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएकाे छ । माघ २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

यसैगरी माघ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। माघ २८ गतेसम्म  बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५० खर्ब ८६ अर्ब रुपैयाँ थियो। माघ २९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८०.२५ प्रतिशत र अन्तरबैंक ब्याजदर ३.०१ प्रतिशत रहेको छ।

प्रकाशित मिति : February 15, 2024 at 4:02 pm