स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुने
३ फागुन, काठमाडाैँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीले लाभांश वितरण र एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । कम्पनीकाे फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा फागुन २६ गते शनिबार काठमाडाैँकाे हात्तिसारमा रहेको नेपाल हाउसमा बिहान ११.३० बजे आयोजना गर्ने निर्णय गरेको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन १३ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ। यसकाे अर्थ फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : February 15, 2024 at 9:30 am









