८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढ्यो, पुसमा मात्रै भित्रियो १ खर्ब १९ अर्ब

२३ माघ, काठमाडौँ । चालु आर्थिक वर्षको पुससम्ममा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो ।

पुस महिनामा मात्रै १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु.७९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार १२:५९