१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नुवाकोटमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

२ मंसिर, नुवाकाेट। निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते दुईदिन नुवाकोट जिल्लाभर नै विद्युत् बन्द हुने जनाएको हो । त्रिशूली–काठमाडौँ प्रसारण लाइनको तार विस्तारका क्रममा जिल्लामा ६६ केभी प्रसारण लाइनमार्फत वितरण भएको स्थानीय प्रसारण तारमा छोएर दुर्घटना हुनसक्ने भएकाले दुई दिन विद्युत् आपूर्ति बन्द गर्न लागिएको केन्द्र प्रमुख सन्तोष कुमारले जानकारी दिए ।

उनका अनुसार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले आग्रह गरेअनुसार सोमबार र मङ्गलबार जिल्लाको सबै स्थानमा बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् सेवा पूर्णरुपमा बन्द गर्न लागिएको हो । माथिल्लो त्रिशूली थ्री ‘ए’मार्फत निर्माणको काम भइरहेको त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किटको तार विस्तारको कार्य गत कात्तिक ७ गतेदेखि शुरु गरिएको थियो ।

नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जोड्न लैजान २०६८ साल फागुन १४ देखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाइन निर्माण अगामी पुस १५ गतेभित्र सक्नुपर्ने बाध्यकारी अवस्था छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ले आगामी माघ २६ गते पहिलो युनिटमार्फत ३० मेगावाट विद्युत् उत्पादन गर्ने भएकाले सो विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पुर्याउन तोकिएको समयमा प्रसारण लाइन निर्माण सम्पन्न गर्न कार्य तीव्र बनाएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए ।

सो प्रसारण लाइनमार्फत नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् एकै केन्द्रमार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माणको काम हाल ९० प्रतिशत सम्पन्न भएको छ । ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)मार्फत रु दुई अर्ब ५० करोड लगानीमा निर्माणको काम भइरहेको हो ।

प्रकाशित मिति : November 18, 2018 at 9:09 pm