८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

उच्च पदस्थ व्यक्तिको नाम र तस्बिर दुरुपयोग, कारोबार गर्दा सचेत रहन राष्ट्र बैंकको आग्रह

९ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले उच्च पदस्थ व्यक्तिहरुको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाता संचालन गरिएको भन्दै सरोकारवाला सबैको ध्यानकर्षण गराएको छ ।

वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले उच्च पदस्थ व्यक्ति, संस्था प्रमुखको नाम र तस्बिर दुरुपयोग गर्दै खोलिएको ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाताबाट विभिन्न बाहानामा रकम पठाइदिने सन्देश पठाउने गरेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

राष्ट्र बैंकले जारी गरेकाे सन्देशमा भनिएको छ, ‘विभिन्न निकायका उच्चपदस्थ व्यक्ति तथा संस्था प्रमुखहरूका नाम र तस्वीर दुरूपयोग गरी ह्वाट्स एप, म्यासेन्ज, भाइबर खाताबाट ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको छ ।’

साथै, बैंकले आफ्ना चिनजानका व्यक्ति वा उच्चपदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारोबार नगर्न आग्रह गरेको छ ।

यस्तै, बैंकले डिजिटल वित्तीय कारोबारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोबार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकीन गरेर मात्र कारोबार गर्ने आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार ११:२२