१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

रसुवाकाे गोसाईकुण्ड गाउँपालिकाकाद्वारा स्थानीय पाठ्यक्रम ‘लाङटाङको सेरोफेरो’ परिमार्जन

-अनु आचार्य

३० कात्तिक, रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिकाको प्राथामिक विद्यालयका लागि निर्माण गरिएको स्थानीय पाठ्यक्रम ‘लाङटाङको सेरोफेरो’ परिमार्जन गरिएको छ। स्थानीय पाठ्यक्रम लाङटाङको सेरोफेरो (२०६९) परिमार्जन गरिएको हो।

परिमार्जन गरिएको पाठ्यक्रमको बुधबार एक कार्यक्रमका बिच विमोचन गरिएको छ। कक्षा १ देखि ३ सम्मका लागि निर्माण गरिएको परिमार्जित पाठ्यक्रमको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र शिक्षा विकास तथा समन्वय इकाई रसुवाका प्रमुख बालकृष्ण सिम्खडाले संयुक्तरूपमा विमोचन गरे।

परिमार्जन गरी विमोचन गरिएको पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धर्म, परम्परा, भूगोल, पेसा आदिलाई समेटिएको बताइएको छ। वन्यजन्तु संरक्षण संघ नेपाल र नेपाल प्रकृति पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा पाठ्यक्रम निर्माण गरिएको हो।

२०६९ सालमा निर्माण भएको स्थानीय पाठ्यक्रमको पुनः अहिले परिमार्जन गरिएको स्रोत व्यक्ति ध्रुब प्रसाद लामिछानेले बताए। उनले भने, ‘पाठ्यक्रममा यस क्षेत्रका भाषा, संस्कृति, व्यवसाय, प्राकृतिक श्रोत र सम्पदाको पहिचान एवम् प्रकोप तथा विपद् सम्बन्धी विषयवस्तु समेटिएको छ।’

जिल्लामा शैक्षिक सत्र २०७४ सालबाट तामाङ भाषामा पढाइ सुरु गरिएको थियो। साविकको जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार शैक्षिक सत्रबाट जिल्लाको साविकको ८ वटा गाविसमा तामाङ भाषाबाट पठनपाठन सुरु गरिएको थियो। जिल्लाको यार्सा, गत्लाङ, थुमन, चिलिमे, स्याफ्रु, धुन्चे, टिमुरे र राम्चे गरी ८ वटा गाविसमा सञ्चालित प्राथामिक तहको विद्यालयमा तामाङ भाषाको पाठ्यपुस्तक लागू गरिएको थियो।

८० प्रतिशतभन्दा बढी तामाङ भाषी अध्ययनरत विद्यालयमा तामाङ भाषाबाट पढाइ थालिए पनि यसले निरन्तरता भने पाउन सकेको छैन। मातृभाषामा नै पठनपाठन गर्दा बालबालिकाहरूले सहजरुपमा सिकाइ उपलब्धी हासिल गर्ने भएकाले तामाङ भाषाबाट अध्ययन गराउने कार्यको थालनी गरिएको थियो।

प्रकाशित मिति : November 16, 2018 at 9:01 am