चिठ्ठा परेको छ भन्दै सामाजिक सञ्जालबाट ठगी गर्ने ३ जना भारतीयसहित ७ जना पक्राउ
२९ कात्तिक, माेरङ । चिठ्ठा परेको छ भन्दै भाइवर, ह्वाट्स एप समेतको माध्यमबाट पुरस्कार ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तपाईंहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ, चिठ्ठा वापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरेपश्चात् रकम प्राप्त गर्नुहुनेछ भन्दै रकम संकलन गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारतको विहार अररिया जिल्ला फारवेशगञ्ज बस्ने वर्ष २५ का मनोजकुमार ठाकुर, वर्ष २३ का चन्दनकुमार भगत, वर्ष २८ का पंकजकुमार साह रहेका छन् । ठगीमा संलग्न हुने नेपालीमा मोरङको कटहरी गाउँपालिका–४ बस्ने वर्ष २० का खगेन्द्रप्रसाद रौनियार, वर्ष २२ का प्रेमकुमार साह, वर्ष २५ का रमेशकुमार साह, जहदा गाउँपालिका–७ बस्ने वर्ष २० का टुनटुन साह रहेका छन् ।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले नेपाली रुपैयाँ ३५ हजार, भारू ३० हजार, मोबाइल, न्यूज क्राइम २४ डटकमबाट जारी गरिएको प्रेस रिपोर्टर लेखिएको परिचयपत्र समेत बरामद गरेको छ ।
देशका विभिन्न ब्यक्तिबाट १६ लाख ५७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान शुरू गरिएको डीएसपी श्रेष्ठले बताए ।
प्रकाशित मिति : November 15, 2018 at 6:57 pm







