४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

राजनितिक प्रभावमा ठेक्का हत्याउने सिल्ट कन्सल्टेन्सीबिरुद्ध अख्तियारमा उजुरी,काँग्रेस नेता गगन थापाकै दाजु संलग्न रहेकाे खुलासा

२९ कात्तिक, काठमाडौं । राजनितिक प्रभावमा ठेक्का हत्याउने सिल्ट कन्सल्टेन्सीबिरुद्ध अख्तियारमा उजुरी परेकाे छ । कन्सल्टेन्सीले काँग्रेस नेता गगन थापाकाे दाजुकाे नकली शैक्षिक योग्यता पेस गरी ठेक्का प्राप्त गरेकाे खुलासा भएकाे छ । काँग्रेस नेता गगनका दाजु पवन थापा बी.ई. पास गर्नुपूर्व नै  स्नातकोत्तर पास गरेको भनी कन्सल्टेन्सीले नक्कली कागजात बनाई पेश गरेको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख गरिएको छ ।

 विगत तीन दशकदेखि नेपालमा ईन्जिनियरिङ कन्सल्टेन्सी सम्बन्धी काम गर्दै आएको महत्वपूर्ण कम्पनी सिल्ट कन्सल्टेन्सीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हाे। २०७५ कात्तिक २७ गते ७४५५ नम्बरमा दर्ता भएको उजुरीमा सिल्ट कन्सल्टेन्सीले विभिन्न निकायमा काम पाउन राज्यका महत्वपूर्ण व्यक्ति तथा संस्थाहरुको दुरुपयोग गर्ने गरेको आरोप लगाइएको छ ।

अरुण चौथो हाइड्रोपावर कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन (इ.आइ.ए.) अध्ययनको ठेक्का प्राप्त गर्न कम्पनीको प्रोफाईलमा विभिन्न शक्ति केन्द्रसँग सम्बन्धित व्यक्तिहरुलाई कम्पनीका विभिन्न पदमा रहेको भनी सिल्ट कन्सल्टेन्सीले किर्ते कागजात खडा गरेको छ ।

सिल्ट कन्सल्टेन्सीले विद्युत विकास विभागले प्रवद्र्धन गरेको अरुण चौथो हाइड्रोपावरको इआईए अध्ययनको ठेक्का प्राप्त गर्न  कम्पनीको मुख्य ईन्जिनियरमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाका दाई पवन थापालाई नियुक्त गरेको उल्लेख छ ।

मुख्य इन्जिनियरको रुपमा नियुक्त गरिएका भनिएका पवन थापा कम्पनीका सञ्चालक केशव कुँवरकै नेतृत्वमा  थापाको नामका शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र बनाई पेश गरेको र त्यसैको आडमा ठेक्का प्राप्त गरी भ्रष्टाचार गरेकाले निजले विद्युत विकास विभागमा पेश गरेका तत्सम्बन्धी फाइल झिकाई छानबिन गरी हदैसम्मको कारवाही गर्न उजुरीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १४:५७