२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरिर एमाले मुख्यालय च्यासलमा, अन्त्यष्टि भोलि साँझमात्रै हुने

२६ भदाै, काठमाडाैँ । संविधानसभा अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय च्यासलमा लगिदैछ । बिहान ९ बजे च्यासलमा श्रद्धाञ्जलीका लागि पार्थिव शरिर राखिने एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

नेम्वाङको अन्त्येष्टि भोलि साँझमात्र हुने भएको छ । नेम्वाङको परिवारका अनुसार बेलायत र अष्ट्रेलियामा रहेका छोराहरू भोलि ४ बजेसम्म फर्किनेछन । दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र  कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ ।

नेम्वाङको हृदयाघातबाट मंगलबार बिहान निधन भएको थियो । हृदयाघात पश्चात अस्पताल लैजानेक्रममा नेम्वाङको निधन भएको उनको स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए ।

इमान्दार नेताहरूको सूचीमा अग्रपंक्तिमा पर्ने नेम्वाङ ढिलामात्रै प्रतिक्रिया जनाए पनि सही र गलत छुट्याउन सक्ने नेताको रूपमा समेत परिचित थिए । उनी नेपालको इतिहासमा लामो समय सभामुख हुने पहिलो व्यक्ति हुन ।  इलामबाट प्रतिनिधिसभामा विजयी नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०८:१३