६० किलो सुनमा दलहरूबीच कुरा मिल्यो, अब एमालेले संसद अबरूद्ध नगर्ने
४ भादाै, काठमाडाैँ । ६० किलो सुनमा दलहरूबीच कुरा मिलेको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने र मंगलबार आज २ बजे उच्चस्तरीय छानविन समिति गठन गर्ने सम्बन्धमा दलहरूबीच कुरा मिलेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार आज २ बजेसम्ममा कार्यादेशको मस्यौदा तयार पार्ने गरी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नै गठन भएको छ । जसको सदस्यमा नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे रहेका छन ।
योसँगै संसदको गतिरोध समेत अन्त्य हुने भएको छ । गिरीका अनुसार २ बजेको बैठकले उच्च्स्तरीय समिति बन्ने बित्तिकै संसदमा एमालेको अबरोध हुनेछैन । सुनका बारेमा सहमति खोज्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारूढ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवलगायत सहभागी थिए ।
प्रकाशित मिति : August 22, 2023 at 8:39 am










